Feeds:
Posts
Comments

Archive for May, 2010

सिन्थेटिक घाँसबाट बनाइएको कार्पेट (एस्ट्रो टर्फ) मा पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ खेल्नुपर्ने भएपछि नेपालको महत्वकांक्षी उद्देश्य जोखिममा परेको छ।
अगस्ट १४ देखि २१ सम्म इटालीमा हुने डिभिजन-४ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टर्फ विकेटमा गर्न नसकेपछि त्यसको सबैभन्दा ठूलो धक्का नेपाललाई लाग्ने देखिएको हो।

आइसिसीले आयोजना गर्ने प्रमुख प्रतियोगिता टर्फमा गर्दै आए पनि इटालीमा त्यो उपलब्ध हुन नसकेपछि २०१५ को विश्वकपको छनोट आधार मानिएको प्रतियोगिता एस्ट्रो टर्फमै हुन लागेको हो। नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले आइसिसीले डिभिजन-४ एस्ट्रो टर्फमै आयोजना गर्न लागेको बताए। प्रतियोगितामा नेपाल र इटालीसहित अमेरिका, क्यामी आइल्यान्ड, तान्जेनिया र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्नेछन्। फेब्रुअरीमा काठमाडौंको टर्फ विकेटमा डिभिजन-५ को पहिलो दुई स्थान हात पार्दै नेपाल र अमेरिका डिभिजन-४ का लागि छानिएका थिए।

‘यो हाम्रो लागि एक किसिमको झट्का नै हो किनभने हामी प्रायः एस्ट्रो टर्फमा खेल्दैनौं। अभ्यास एस्ट्रो टर्फमा गरे पनि त्यसमा खेल खेलेका छैनौं। हामीसँग एस्ट्रो टर्फ नभएको होइन तर त्यसको सही प्रयोग हुन सकेन र त्यसमा प्रतियोगिता पनि हुन सकेन,’ अध्यक्ष पाण्डेले नागरिकसँग भने, ‘एसियाली क्षेत्रमा मध्यपूर्वमा मात्र एस्ट्रो टर्फमा खेल्ने चलन छ।’

आइसिसीले प्रतियोगिता नियामावलीमा एस्ट्रो टर्फमा पनि गर्न सक्ने राखेको हुनाले नेपालले त्यसमा खेल्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘पहिलो पटक भएको भए गुनासो गर्न मिल्थ्यो, तर आइसिसीले यसअघि पनि डिभिजन-३ सहित केही प्रतियोगिता एस्ट्रो टर्फमा गरिसकेका हुनाले हाम्रो बोल्ने ठाउँ छैन। प्रतियोगिता तयारीका लागि एस्ट्रो टर्फ सुविधा भएको ठाउँमा अभ्यास खेल राख्न हामीले अनुरोध गरेका छौं,’ पाण्डेले भने।

एस्ट्रो टर्फमा खेल्नुपर्ने भएपछि नेपालले यसअघि बनाएको तालिका पूरा परिवर्तन गर्नुपर्ने भएको छ। तीन दिनअघि कीर्तिपुरमा एस्ट्रो टर्फ बनाई नेपाली टोलीलाई त्यसमा अभ्यास गराइएको छ। तयारीका क्रममा विभिन्न देशमा गएर अभ्यास खेल खेल्ने तालिका अब परिवर्तन गरिएको छ। श्रीलंकामा गएर खेल्ने तालिका भने यथावत रहे पनि अर्को एक मुलुक निश्चित नभएको अध्यक्ष पाण्डे बताउँछन्। आइसिसीको एस्ट्रो टर्फमा खेलाउने निर्णयले नेपाललाई मात्र नभई सहभागी सबै टोलीलाई असर पर्ने उनले बताए।

एस्ट्रो टर्फमा खेलाउने आइसिसीको निर्णयबाट नेपालका प्रशिक्षक रोय लुक डायस र कप्तान पारस खड्का पनि आश्चर्यचकित छन्। ‘हामीले इटालीको विकेट बाउन्सी र घाँसे हुने अनुमान गरेका थियौं, तर अब एस्ट्रो टर्फमा खेल्नुपर्ने भएको छ, त्यसैले हामीले एस्ट्रोमा अभ्यास गर्न सुरु गरिसकेका छौं,’ प्रतियोगिता हुन दुई महिनाअगाडि यो खबर आएकाले केही राहत भएको बताउँदै डायस भन्छन्, ‘मैले नेदरल्यान्डमा चार वर्ष एस्ट्रोमा खेलेको अनुभवअनुसार तीब्र बलरहरूले स्पाइक (काँडा भएको जुत्ता) प्रयोग गर्दैनन् र रबर जुत्ता लगाएर खेल्नुपर्छ।

हामीसँग अहिले रबर जुत्ता छैन, तर हाम्रा तीब्र बलरले रबर लगाएर खेल्नुपर्छ, जुन हाम्रा खेलाडीका लागि नौलो हुनेछ।’

नेपालले डिभिजन-५ आयोजना गर्ने क्रममा तीन टर्फ विकेट भएको मैदान तयार पारेको थियो र आइसिसीले निरीक्षण गरेपछि मात्र प्रतियोगिता आयोजना गर्न दिइएकोले आफूलाई आइसिसीको निर्णय अनौठो लागेको डायस बताउँछन्। ‘अहिलेको अन्तर्राष्ट्रिय क्रिकेट पनि एस्ट्रो टर्फमा हुनु दुःखलाग्दो पक्ष हो,’ उनले भने।
स्पिनरहरूको उच्च प्रदर्शनमा नेपालले विगतमा महत्वपूर्णहरू खेल जितेको आधारमा एस्ट्रो टर्फ नेपालको उद्देश्यमा बाधा हुन सक्छ। तर कप्तान पारस संयमित प्रदर्शन गर्ने हो भने खासै फरक नपर्ने बताउँछन्। ‘नेपालले २००१ मा क्यानाडामा आइसिसी ट्रफी खेल्दा केही खेल एस्ट्रो टर्फमा खेलेको रहेछ, त्यो टोलीका विनोद दास र दीपेन्द्र चौधरी अहिले पनि खेलिरहनु हाम्रा लागि महत्वपूर्ण हुन सक्छ,’ कप्तान पारसको आशा राख्छन्।

Source: Nagariknews

Advertisements

Read Full Post »

स्थापनाको हिरक जयन्ती मनाइसकेको न्युरोड टिम (एनआरटी) झन्डै १५ वर्षपछि क्लबस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश यात्रामा निस्कँदैछ। सन् १९९६ मा ‘ए’ डिभिजन लिग च्याम्पियनको हैसियतमा भारतको नयाँ दिल्लीमा एसियन क्लब च्याम्पियनसिप खेलेको त्रिपुरेश्वरे टोलीले यसपटक एएफसी प्रेसिडेन्ट्स कप फुटबलको छनोट चरणमा भाग लिँदैछ।

एनआरटीको गन्तव्य बंगलादेश हुँदैछ, जहाँ समूह ‘ए’ को छनोट वैशाख २९ देखि हुनेछ। प्रेसिडेन्ट्स कप एसियाली फुटबल महासंघ (एएफसी) ले विभाजन गरेको ‘ग’ श्रेणीका राष्ट्रका लिग विजेताले खेल्ने प्रतियोगिता हो। एनआरटी त्यो हिसाबमा भाग्यमानी मान्नुपर्छ, जसले लिगको पहिलो चरण विजेताकै हैसियतमा प्रेसिडेन्ट्स कप खेल्दैछ।

प्रतियोगिताको छैटौं संस्करणमा आइपुग्दा आधा लिगको विजेताले लिग च्याम्पियन हैसियत प्रेसिडेन्ट्स कप खेल्न लागेको नेपाली टोलीको पहिलो घटना हो। त्यसो त २०६३ को लिग विजेता नेपाल पुलिस क्लबले पछिल्ला दुई संस्करण पूर्वविजेताकै हैसियतमा खेल्यो। नेपाली फुटबल आन्तरिक विवादमा फसेका कारण पुलिसले लगातार तीन पटक देशको प्रतिनिधित्वको मौका पाएको थियो। अहिले एनआरटी पुलिसभन्दा चार अंकले पछि रहँदै लिगको अंकतालिकामा दोस्रोमा छ।
जारी आमहड्तालका कारण लिग रोकिएपछि यतिखेर एनआरटी दशरथ रंगशालामा प्रेसिडेन्ट्स कपको तयारी गर्न जुटेको छ। पछिल्लो अन्तर्राष्ट्रिय सहभागिता र अहिलेको टोलीमा निकै परिवर्तन छ। त्यतिबेलाका खेलाडी डिकेन सुवाल र नरेन्द्र श्रेष्ठ अहिले फरक भूमिकामा छन्। श्रेष्ठ व्यवस्थापक र सुवाल प्रशिक्षक भएर टोली सम्हाल्दै छन्।

प्रेसिडेन्ट्स कप खेल्ने एनआरटी नेपालको चौथो टोली हो। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबबाहेक दुई टोलीले प्रतियोगितामा उच्च प्रदर्शन गरेका थिए। २००५ मा काठमाडौंमा भएको पहिलो संस्करणमा नबिल थ्री स्टारले सेमिफाइनलसम्मको यात्रा तय गर्‍यो भने पुलिसले फाइनल पनि खेल्यो। दोस्रो संस्करणमा मनाङ र पछिल्लो संस्करणमा पुलिस पहिलो चरणबाटै बाहिरिए।

प्रेसिडेन्ट्स कपको अन्तिम चरणसम्म नेपाली समर्थकको चासो कायम राख्ने जिम्मेवारी यसपटक एनआरटीको काँधमा आएको छ।

समय अभावले तयारी सन्तोषजनक हुन नसकेको प्रशिक्षक सुवाल बताउँछन्। ‘अघिल्लो सातासम्म लगातार लिग र त्यसपछि हड्तालले तयारीमा असर पारेको छ,’ उनले भने, ‘बल्ल त सबै खेलाडी जम्मा भए, अब हामीसँग धेरै समय पनि छैन। जति समय छ यसलाई बढीभन्दा बढी उपयोग गर्छौं।’

अग्रपंक्ति र रक्षापंक्तिप्रति उनको बढी विश्वास छ। ‘अग्रपंक्ति र रक्षापंक्तिमा खासै समस्या छैन। मध्यपंक्तिले पनि विस्तारै लय समात्दै छ,’ उनले थपे, ‘अलिकति समस्या गोलरक्षकमा छ, तर मलाई विश्वास छ त्यो पक्षमा पनि धेरै सुधार भएको छ।’

राष्ट्रिय टोलीका कप्तान समेत रहेका सागर थापासहित विराज महर्जन, नविन न्यौपाने र उमेश उप्रेतीजस्ता अनुभवी खेलाडीले टोलीको रक्षापंक्ति सम्हाल्नेछन्। रञ्जित श्रेष्ठ र लक्ष्मण रुचालसहित जीवन सिन्केमान, राजेश शाही, सुवास राई मध्यपंक्तिमा छन्। लिगकै सबैभन्दा सफल विदेशी खेलाडी स्ट्राइकर सायन मोसाभी एनआरटीसँगै छ भने उनलाई अनुभवी नीराजन रायमाझीले साथ दिनेछन्। गोलपोस्टको जिम्मेवारी कप्तान सुरेन्द्र श्रेष्ठको काँधमा छ। २३ सदस्यीय खेलाडी टोलीमा केही नयाँ छन्, जसलाई भविष्यमा राम्रो गर्ने र यो प्रतियोगिताले ‘एक्सपोजर’ दिने व्यवस्थापक नरेन्द्र श्रेष्ठ बताउँछन्। सागर, नविन र उमेशले मनाङ र राजेशले थ्री स्टारबाट प्रेसिडेन्ट्स कपको अनुभव लिइसकेका छन्। मोसाभीबाहेक एनआरटीको प्लेइङ सेटका सबै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उमेर समूह वा राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरिसके।

तीन खेलाडी बसन्त गौचन, अनिल गुरुङ र बालगोपाल महर्जनलाई प्रशिक्षक सुवालले ‘मिस’ गरिरहेका छन्। ‘उनीहरु हुन्थे भने टोली थप बलियो हुन्थ्यो। बसन्त जस्ता ‘प्लेमेकर’ नहुनु टोलीको अहिलेको अर्को समस्या हो,’ सुवाल भन्छन्। बसन्त र बालगोपाल विदेशिए भने अनिल भारतीय लिग टोली सिलोङ लाजोङमा आवद्ध छन्। अनिलको अभाव भने मोसाभीले पूर्ति गरेको सुवालको तर्क छ। १३ गोल गरेका मोभासी लिगको उच्च गोलकर्ताको दौडमा थ्री स्टारका सन्तोष साहुखलभन्दा पछि छन्।
व्यवस्थापक श्रेष्ठ मोसाभीबिना एनआरटीले प्रेसिडेन्ट्स कपको यात्रा कल्पना गर्न नसक्ने बताउँछन्। ‘अनिल नहुँदा हामीसँग स्ट्राइकर अभाव थियो, त्यसलाई मोसाभीले पूरा गरे,’ उनले भने, ‘यद्यपि नीराजनले पनि अहिले राम्रै गरिरहेका छन्।’ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका नीराजन पनि प्रेसिडेन्ट्स कपलाई लिएर उत्साहित छन्। नेपालका लागि १३ गोल गरेका नीराजनले भने, ‘प्रेसिडेन्ट्स कपमा हामीले राम्रो प्रदर्शन गर्नुपर्नेछ।

प्रशिक्षक सुवाल समूह चरणको खेलमा केन्द्रित हुने बताउँछन्। विपक्षीको बारेमा खासै जानकारी छैन। हामी सचेत हुनु जरुरी छ,’ लक्ष्य प्रष्ट पार्दै उनी भन्छन्, ‘अहिले छनोट चरणका तीन खेल नै हाम्रो पहिलो प्राथमिकता हो। मलाई विश्वास छ हामी छनोट चरण पार गर्छौं।’

एनआरटीको समूहमा किर्गिस्तानको डोर्डोइ, चाइनिज ताइपेइको योडी र बंगलादेशको अवामी लिग छन्। कप्तान सुरेन्द्र अवामीबाहेक अन्य दुई टोलीको बारेमा अनभिज्ञता प्रकट छन्। ‘मलाई अवामीको बारेमा थाहा छ। तीन वर्षअघि चटगाउँ अवामीबाट बंगालदेशको लिग खेल्दा सो क्लबविरुद्ध खेल्ने मौका पाएको थिएँ,’ उनले भने, ‘अवामी बलियो टोली हो।’

सुरेन्द्रको भनाइ मान्ने हो भने एनआरटीमा अन्य नेपाली क्लबभन्दा ‘टिम स्पिरिड’ राम्रो छ र जितको आधार त्यही हो। उनको दाबीसँगको टोलीको प्रदर्शन कति मेल खान्छ त्यो हेर्न भने केही दिन कुर्नैपर्ने हुन्छ।
Source- Nagarik

Read Full Post »

एक दशकदेखि पोखरामा अलपत्र रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण कार्य सुरु भएको छ । जिल्ला क्रिकेट संघ तथा स्थानीयवासीको पहलमा मैदान निर्माणको काम सुरु भएको हो ।

‘क्रिकेट खेल्ने योग्य ठाउँ ‘पिच’ तयारी भइसकेको छ,’ संघका जिल्ला अध्यक्ष वीरेन्द्रसिंह गुरुङले भने, ‘अब मैदान वरिपरि दुबो रोप्ने काम भइरहेको छ ।’ पिच निर्माणका लागि मात्रै ६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

८० रोपनी जग्गामा १ सय ८४ मिटर लम्बाइ र १ सय ६५ मिटर चौडाइमा पोखरा रंगशालामा क्रिकेट मैदान निर्माण हँुदै छ । मैदान निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला क्रिकेट संघलाई जग्गा छुट्टयाएको ११ वर्ष भइसक्दा पनि मैदान खेल्न त होइन सिक्नका लागि पनि योग्य बन्न सकेको थिएन ।

मैदान नबन्दा यहाँका खेलाडीहरू नगरप्रशिक्षण केन्द्रको जग्गा भाडामा लिएर धूले मैदानमा क्रिकेट खेल्न बाध्य थिए । पोखरामा करिब एक दर्जन क्रिकेट क्लबहरू सक्रिय छन् ।

सुरुमा क्रिकेटका लागि सम्याएर ठिक्क पारिएको मैदान परिषद्ले आर्चरीलाई दिएपछि निर्माणमा ढिलाइ भएको हो । जतिबेला क्रिकेटका लागि आएको १० लाख सहयोग खर्च भएको थियो । ‘ठाउँ परिवर्तन गर्दा र बजेटको समस्याले पनि मैदान निर्माणमा ढिला भएका हो,’ संघका सचिव देवसन प्रजुले भने । एक महिनायता मैदान निर्माणको कामले निरन्तरता पाएको हो । मैदान निर्माण पूरा गर्न ६० लाख रुपैयाँ अझै लाग्ने भएकाले स्थानीयको सहयोग जुटाउन जिल्ला क्रिकेट संघ जुटिरहेको अध्यक्ष गुरुङले बताए । एसियसन क्रिकेट क्लबमार्फत क्यानले हालसम्म मैदान निर्माणका लागि २० लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

मैदान बनेर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकियो भने एउटा खेलले ५० प्रतिशत विदेशी पर्यटक भित्र्याउने पर्यटन व्यवसायीहरूको दाबी छ । ‘पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय खेलमैदानले खेल पर्यटनमा सघाउ पुर्‍याउने छ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्दराज पहारीले भने, ‘मैदान निर्माणका लागि पर्यटन व्यवसायी पनि तत्पर रहेका छौं ।’

मैदानकै अभाव देखाउनका लागि फोटोपत्रकार सुदर्शन रञ्जितले सेताम्मे टल्केको माछापुच्छे्रलाई पृष्ठभूमि बनाएर ढुङ्गे बगरमा साना क्रिकेटर खेलेको तस्बिर आफ्नो क्यामरामा कैद गरेका थिए । जुन तस्बिर एसियामै उत्कृष्ट भएर पुरस्कार हात पारेपछि मैदान निर्माणका लागि १० लाख सहयोग जुरेको थियो ।

source-kantipur

Read Full Post »