चीनको ग्वाङ्झाउमा हुने १६औं एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालले खेल्ने केही खेलसहित अन्यका सबै टिकट बिक्री भएका छन्।
बिक्रीका लागि राखिएको केही घन्टामै टिकट सकिएको एसियाली क्रिकेट परिषद् (एसिसी)ले जनाएको छ। प्रत्येक चार वर्षमा हुने एसियाली खेलकुदमा क्रिकेट पहिलो पटक समावेश भएको हो।
नोभेम्बर १२ देखि २७ सम्म हुने यो एसियाली खेलमेलाको क्रिकेटमा टेस्ट राष्ट्र भारतले महिला र पुरुष दुवैमा सहभागिता जनाएको छैन। अर्को टेस्ट राष्ट्र श्रीलंकाले पनि महिलाबाट नाम फिर्ता लिइसकेको छ।
महिलाको नोभेम्बर १३ र १४ तथा पुरूषको २१ मा हुने खेलको सबै टिकट बिक्री भएको हो। क्रिकेटको पहिलो दिन अर्थात् नोभेम्बर १३ मा महिलातर्फ चीन र मलेसिया तथा जापान र नेपाल एवम् १४ मा पाकिस्तान र थाइल्यान्ड एवम् बंगलादेश र हङकङ खेल्दै छन्।
नोभेम्बर २१ बाट पुरुषको इभेन्ट सुरु हुँदा चीन र मलेसिया एवम् हङकङ र नेपाल आमनेसामने हुँदैछन्। ‘चीन र हङकङले खेल्ने खेलमा यत्रो समर्थन आउनु निकै उत्साहजनक हो,’ हङकङ क्रिकेट संघका प्रबन्ध निर्देशक डानी लाइले एसिसीको वेबसाइटमा भने, ‘उत्साह यतिसम्म छ कि मैले पनि टिकट पाएको छैन।’
खेल हुने ग्वाङ्झाउ युनिभर्सिटी टाउन रंगशालाको दर्शकक्षमता ६ हजार छ। समूह चरणको खेलको १० र २०, सेमिफाइनलको ५० तथा फाइनलको ८० चिनियाँ युआन टिकट दर राखिएको छ। एक डलर बराबर ६.६७ युआन हुन्छ।
नेपाल क्रिकेट संघले आफ्नै खर्चमा एसियाली खेलकुदमा खेलाडी सहभागी गराउने निर्णय गरेको थियो। सरकारले पछि क्रिकेटलाई केही सहयोग गर्ने वचन दिएको छ। नेपालले १९९८ को बैंकक एसियाडपछि क्रिकेटबाट पहिलो पटक समूहगत खेलमा सहभागिता जनाउँदै छ। नेपालले अहिलेसम्म एसियाली खेलकुदको समूहगततर्फ पदक जित्न सकेको छैन।
यस पटक महिला क्रिकेटमा नेपालको पदक जित्ने सम्भावना राम्रो देखिएको छ। नीरा राजोपाध्यायको कप्तानीमा रहेको नेपालले जापानसँग पहिलो खेल जितेमा त्यसपछि बंगलादेश र हङकङको विजेतासँग खेल्नेछ। जस्तो नतिजा आए पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ।
सन् २००७ बाट सुरु महिला क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा नेपालले दुई उपाधि जितेको छ भने एक फाइनलमा पुग्दा अर्कोमा तेस्रो भएको छ। अघिल्लो महिनामात्र सिंगापुरमा एसिसी यु-१९ महिला च्याम्पियनसिप उपाधि जितेकाले ग्वाङ्झाउमा पदकको आशा गरिएको छ। सिंगापुरमा उपाधि जितेको नेपाली टोलीका कप्तान नेरी थापा, रुबिना क्षेत्री, सरिता मगर र सीता रानामगर एसियाड टोलीमा छन्।
नेपाली महिला टोली अहिले बन्द प्रशिक्षणमा छ। पुरुषको प्रशिक्षण तिहारपछि मात्र सुरु हुने बताइएको छ। पारस खड्काको कप्तानीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले हङकङ र माल्दिभ्ससँग समूह चरणको खेल खेल्दैछ।
Nagariknews